logo

२०८२ माघ २४ शुक्रबार

logo
  • शुक्रबार, २४ माघ २०८२
  • ‘बुकी’को पहिलो गीत सार्वजनिक

    ‘बुकी’को पहिलो गीत सार्वजनिक

    78
    SHARES
    ‘बुकी’को पहिलो गीत सार्वजनिक

    विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो ।

    सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ । प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

    देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतको सुमधुर संगीत छ ।

    भिडियोको सुरुवातमा सिनेमाका मुख्य पात्र (देबेन्द्र बब्लु) ले आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै गर्दा उनी कुनै विगतको सफलता वा प्रेमको यादमा हराइरहेको देखिन्छन् । भिडियो अगाडि बढ्दै जाँदा देबेन्द्र र रोशनी कार्की बीचको प्रेममय यात्रा सुरु हुन्छ । सुरुवातमा देखिएको त्यो ‘नोस्टाल्जिया’ र अन्त्यमा देखाइएको भावुक विछोड वा पीडाले दर्शकलाई सोच्न बाध्य बनाउँछ, के यी सबै पुराना सम्झनाहरू मात्र हुन् ? अभिनेत्री रोशनीको भक्कानिएर रोएको दृश्य र देबेन्द्रको मौनताले भिडियोलाई निकै शक्तिशाली बनाएको छ ।

    भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका क्षेत्रहरूलाई निकै सुन्दर ढंगले खिचिएको छ । सडक यात्रा, हिउँले ढाकिएका पहाडहरू र स्थानीय गाउँले बस्तीहरूले भिडियोलाई एउटा ‘ट्राभल ब्लग’ जस्तै जीवन्त बनाएको छ । ड्रोन सटहरूको प्रयोगले नेपालको हिमाली भेगको विशालतालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।

    गायक देबेन्द्र बब्लु आफ्नो गायकीका लागि त परिचित छन् नै, तर यो भिडियोमा उनको अभिनय पनि निकै परिपक्व देखिएको छ । अभिनेत्री रोशनी कार्कीसँगको उनको जोडी निकै स्वभाविक देखिन्छ । भिडियोमा उनीहरूको सम्बन्धमा एउटा आधुनिक र रोमान्टिक स्पर्श दिएको छ । उनीहरूले साना-साना पलहरूमा देखाएको खुसी र अन्त्यको रुवाबासीले दर्शकको मन छुन्छ ।

    ‘बुकी’ को यो पहिलो गीतले चलचित्र एउटा गम्भीर र भावनात्मक प्रेमकथामा आधारित छ भन्ने स्पष्ट पारेको छ ।

    ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

    चलचित्रको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ ।


    बुधबार, १५ माघ २०८२
    सम्बन्धित समाचार
    Go