सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” तथा “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित आयोजित महोत्सव कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो।
चलचित्र विकास बोर्डको सक्रिय सहभागिता तथा सहकार्यमा आयोजित महोत्सवमा बोर्डले कर्णालीलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य, कथा विकासको स्रोतभूमि तथा चलचित्र पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढाउन संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गरेको थियो। बोर्डको सहभागिताले महोत्सवलाई केवल चलचित्र प्रदर्शन वा सांस्कृतिक जमघटमा सीमित नराखी नीति, सहकार्य, पर्यटन प्रवर्द्धन र दीर्घकालीन चलचित्र विकाससँग जोड्ने आधार तयार गरेको आयोजक पक्षले जनाएको छ।
महोत्सवका क्रममा कर्णाली प्रदेश सरकारबाट चलचित्र क्षेत्रको विकासका लागि ठोस नीति तथा बजेटगत प्रतिबद्धता व्यक्त गरिएको थियो। त्यस्तै, कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत कर्णालीमा छायाङ्कन गर्न चाहने निर्माता–निर्देशकलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराउने घोषणा गरिएको छ।
यस अवसरमा चलचित्र कथा प्रतियोगिताको शुभारम्भसमेत गरिएको थियो। कर्णालीको भूगोल, जीवनशैली, संस्कृति, भाषा, इतिहास र जनजीवनलाई चलचित्र कथाको मूल स्रोतका रूपमा विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन योजनामा समेत सहमतिको वातावरण बनाएको छ। यसैक्रममा सल्यानको कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन समारोह आयोजना गरिएको थियो, जसले कर्णालीका पर्यटकीय गन्तव्यहरूलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य गणेश प्रसाद सुबेदी चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, निर्माता, निर्देशक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई देशका विविध भूगोल, संस्कृति र पर्यटनसँग जोड्दै लैजाने नीति अनुरूप कर्णाली जस्ता सम्भावनायुक्त प्रदेशहरूमा हुने चलचित्रसम्बन्धी गतिविधिमा सक्रिय सहकार्य गर्दै आएको जनाएको छ। बोर्डले कर्णालीको मौलिकता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत विश्वमाझ पुर्याउन यस्ता महोत्सवहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
महोत्सवले कर्णाली प्रदेशलाई चलचित्र, पर्यटन र सांस्कृतिक पहिचानको संयुक्त गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण सन्देश दिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd