महिनावारी र छाउपडी प्रथासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै माफी मागेकी छन् ।
न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘ई टकमा व्यक्त गरेको भनाइप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि सन्ज्यालले फेसबुकमार्फत आफ्नो धारणा स्पष्ट पारेकी हुन् । उनले आफ्नो अभिव्यक्तिका कारण अछामवासीको भावनामा चोट पुगेको स्वीकार गर्दै अन्तरहृदयदेखि क्षमायाचना गरेकी छन् ।
सन्ज्यालका अनुसार अमेरिकामा बसोबास गर्ने अछामका एक परिवारमा पनि महिनावारी भएका महिलालाई घरभित्र बस्न नदिने प्रचलन रहेको भन्ने कुरा आफूले प्रत्यक्ष अनुभवका आधारमा नभई एक शुभेच्छुकसँगको टेलिफोन संवादबाट सुनेर कार्यक्रममा उल्लेख गरेकी उक्त दाबी पुष्टि गर्ने प्रमाण आफूसँग नरहेको भन्दै त्यसप्रति पनि उनले दुःख व्यक्त गरेकी छन् ।
आफू लामो समयदेखि छाउपडीजस्ता कुरीतिविरुद्ध सचेतनामूलक अभियानमा सक्रिय रहेको उल्लेख गर्दै महिनावारीसम्बन्धी सरसफाइ, स्वास्थ्य र सुरक्षित बसोबासबारे टिकटक र रिल्समार्फत निरन्तर सामग्री बनाइरहेको पनि उनले बताएकी छन् ।
सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला आफू अस्पतालमा आमाको उपचारमा व्यस्त रहेको उल्लेख गर्दै आएका गालीगलौजप्रति कुनै गुनासो नरहेको र अनजानमा भएको गल्तीलाई सबै अछामवासीले क्षमा गर्ने विश्वास व्यक्त गरेकी छन् ।
सन्ज्यालले छाउपडी प्रथाका कारण अछामसहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा बलात्कार, सर्पदंश तथा निसासिएर मृत्युजस्ता घटना हुने गरेको तथ्य विभिन्न निकाय र सञ्चारमाध्यमका विवरणमा उल्लेख भएको स्मरण गराउँदै सामाजिक कुरीतिविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएकी छन् ।छन् । साथै आफू सुदूरपश्चिम–कर्णालीकै छोरीचेली भएकाले आगामी दिनमा पनि सबैको साथ, माया र विश्वासको अपेक्षा रहेको बताएकी छन् । ००ं०
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd