logo

२०८३ भाद्र २३ मंगलबार

प्रिमियरमै मन जित्यो ‘गौँथली’, दर्शकबाट खुलेर प्रशंसा

प्रिमियरमै मन जित्यो ‘गौँथली’, दर्शकबाट खुलेर प्रशंसा

273
SHARES
प्रिमियरमै मन जित्यो ‘गौँथली’, दर्शकबाट खुलेर प्रशंसा

चलचित्र ‘गौँथली’ ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुलेको छ। सोमबार काठमाडौंको सिभिल महलमा आयोजित विशेष प्रिमियरमा सहभागी दर्शक तथा चलचित्रकर्मीहरूले सिनेमाको खुलेर प्रशंसा गरेका हुन्।

प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले ‘गौँथली’ले नेपाली ग्रामीण समाजको यथार्थलाई संवेदनशील ढंगले पर्दामा उतारेको प्रतिक्रिया दिए। विशेषगरी केही दशकअघिको समाजमा महिलाले भोग्नुपरेका पीडा, पारिवारिक सम्बन्ध र सासु–बुहारीबीचको मनोविज्ञानलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको भन्दै निर्देशक कपिल रिजालको कामको सराहना गरिएको छ।

दर्शकका अनुसार करिब दुई घण्टा २० मिनेट लामो चलचित्रले सुरुदेखि अन्त्यसम्म कथा र प्रस्तुतिमार्फत ध्यान बाँधेर राख्न सफल भएको छ। कुनै पनि क्षण बोझिलो वा अनावश्यक नलाग्ने शैलीमा कथा अघि बढेकाले चलचित्रले भावनात्मक रूपमा छोएको प्रतिक्रिया प्रिमियरमा सुनियो।

चलचित्रले नेपाली समाजको विगतलाई यथार्थपरक ढंगले चित्रण गर्दै अहिलेको पुस्तासामु पुर्‍याएको भन्दै कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले लेखक तथा निर्देशकको प्रशंसा गरेका छन्। उनीहरूले यस्तो विषयवस्तु बोकेको चलचित्र दर्शकमाझ रुचाइने विश्वास पनि व्यक्त गरे।

अभिनयतर्फ पनि ‘गौँथली’ले उच्च प्रशंसा पाएको छ। अटिजम भएका पात्रको भूमिकामा देखिएका अरुण क्षेत्री र बुहारीको भूमिकामा रहेकी सिम्रन खड्काको अभिनयलाई प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको बलियो पक्षका रूपमा व्याख्या गरेका छन्।

प्रिमियर कार्यक्रममा कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत चलचित्र क्षेत्रका थुप्रै परिचित अनुहारहरूको उपस्थिति थियो। उनीहरूले नेपाली समाजको वास्तविक कथा बोकेको चलचित्र भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै निर्माण टोलीलाई शुभकामना दिएका छन्।

कपिल रिजालको निर्देशनमा तयार भएको ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली तथा बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ।

चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ।


मंगलबार, ३० असार २०८३
सम्बन्धित समाचार
Go