१५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं. १’ सफलतापूर्वक ५१औँ प्रदर्शन दिनमा प्रवेश गरेको छ। दर्शकको निरन्तर साथ पाउँदै आएको चलचित्रले देशका आधा दर्जनभन्दा बढी सिनेमा हलमा ५१ दिनको प्रदर्शन यात्रा पूरा गरेको हो।
निर्माण टिमका अनुसार कीर्तिपुर सिनेप्लेक्स (कीर्तिपुर), शुभकामना सिनेमा (बनेपा), एसटीएस इन्टरटेन्मेन्ट (धनगढी), इलाइट सिनेमा (इटहरी), कावासोती सिनेमा (कावासोती), विराट सिनेमा (विराटचोक) र फ्रेन्ड्स सिनेमा (इलाम)मा चलचित्रले ५१औँ दिनसम्म प्रदर्शन जारी राख्न सफल भएको छ।
बक्स अफिसमा पनि चलचित्रले उत्साहजनक व्यापार गरिरहेको छ। गत आइतबारसम्म फिल्मले १ करोड ७७ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ।
दर्शकको पहुँच अझ सहज बनाउन निर्माण पक्षले असारको पहिलो सातादेखि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। निर्माता विनोद पौडेलका अनुसार विद्यार्थी र अभिभावकको सुझावलाई ध्यानमा राख्दै सबै हलका सबै शोमा आधा मूल्यमा टिकट उपलब्ध गराइएको हो।
शिक्षा प्रणाली, विद्यार्थीमाथिको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ पक्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘रोल नं. १’ सेभेन सिज सिनेमाको ब्यानरमा बनेको हो। चलचित्रको निर्देशन जोन योञ्जनले गरेका छन्।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रमा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताको भूमिकामा छन्। महेश दवाडीको लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत तथा मदन घिमिरेको सम्पादन रहेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd