थाइल्यान्डमा सम्पन्न ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ। फिलिपिन्स, भारत, दक्षिण अफ्रिका, म्यानमार, श्रीलंका, थाइल्यान्डलगायत १६ देशका प्रतिस्पर्धीबीच नेपालले प्रभावशाली नतिजा निकाल्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेको हो।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘एनडिए जुनियर’ टोलीले जुनियर मेगा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुई स्वर्ण पदक जित्यो। यही टोलीले जुनियर क्रु विधामा दोस्रो स्थान प्राप्त गर्दै नेपाललाई रजत पदक पनि दिलायो। यस्तै, ‘टिम एनटी’ले लोकनृत्य विधामा उत्कृष्ट प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो नाममा लेखायो। खुला विधामा भने नेपाली टोली चौथो स्थानमा सीमित रह्यो।
प्रतियोगितामा नेपाली कलाकारहरूको प्रस्तुतिले निर्णायक, विभिन्न देशका प्रतिनिधि तथा दर्शकको मन जितेको बताइएको छ। प्रतियोगितास्थलमा नेपालको राष्ट्रिय गान बज्दा र राष्ट्रिय झन्डा फहराउँदा सम्पूर्ण नेपाली टोली भावुक र गौरवान्वित बनेको अभिनेत्री परीक्षा लिम्बुले अनुभव सुनाइन्। उनका अनुसार विदेशी दर्शक र कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर प्रशंसा गरेका थिए।
‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टोलीहरू यस प्रतियोगितामा सहभागी भएका थिए। रोशन गहतराजको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा ‘टिम एनटी’, ‘दि इननेट सउल’ र ‘एनडिए जुनियर’ सहभागी थिए। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका सयौँ डान्सर, प्रशिक्षक र कोरियोग्राफरहरूको सहभागिता रहेको थियो।
यस संस्करणको अर्को विशेष पक्ष भनेको नेपाली कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहनु थियो। विश्वस्तरको प्रतिष्ठित प्रतियोगितामा नेपाली निर्णायकको उपस्थितिले पनि नेपालको प्रतिष्ठा थप उचो बनाएको छ। उनीसँगै न्युजिल्यान्डकी चर्चित कोरियोग्राफर काया पियर्सले पनि निर्णायकको जिम्मेवारी सम्हालेकी थिइन्।
नेपाली डान्सरहरूको पदक जित, अन्तर्राष्ट्रिय स्तरमा निर्णायकको सहभागिता र प्रभावशाली प्रस्तुतिले विश्व मञ्चमा नेपालको कला र प्रतिभालाई थप उचाइमा पुर्याएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd