logo

२०८३ साउन ५ मंगलबार

ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री

ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री

39
SHARES
ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री

निर्देशक बलिराम चौहानको आगामी नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता सन्तोष बानियाँ मुख्य भूमिकामा अनुबन्धित भएका छन्। सोमबार निर्माण टिम र बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी चलचित्रको प्रमुख कलाकारका रूपमा जोडिएका हुन्।



यसअघि नै अभिनेता रियान गिरीलाई पनि मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको थियो। रोचक पक्ष के भने, सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल ३’ मार्फत एकैपटक नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका कलाकार हुन्।

रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलमा लामो समय काम गरिसकेका सन्तोषले ‘होस्टेल ३’पछि ‘गोबर गणेश’ र ‘कस्तुरी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन्। यसअघि प्रायः सहायक भूमिकामा देखिएका उनी ‘ल्याङ्ग ल्याङ्ग’मा भने पहिलोपटक केन्द्रीय पात्रका रूपमा प्रस्तुत हुनेछन्। निर्माण पक्षले उनको अभिनय क्षमता र पात्रलाई जीवन्त बनाउन सक्ने गुणका आधारमा मुख्य भूमिकामा छनोट गरिएको जनाएको छ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको चलचित्रको नारा ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताबीच प्रचलित ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई आधार बनाएर चलचित्रले साथीभाइबीचको दबाब, मानसिक तनाव, सम्बन्धका उतारचढाव र समकालीन युवा जीवनका विविध पक्षलाई प्रस्तुत गर्नेछ।

केही समयअघि सार्वजनिक गरिएको थिम पोस्टरमा रहेको ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यले प्रेम, विश्वासघात र त्यसपछि आउने मानसिक संघर्षलाई कथाको केन्द्रमा राखिएको संकेत दिएको थियो।

गत वर्ष ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका बलिराम चौहानले पहिलो चलचित्रबाट समीक्षकको प्रशंसा बटुले पनि प्रदर्शनको समय राजनीतिक माहोलसँग जुध्दा व्यावसायिक रूपमा अपेक्षित सफलता हासिल गर्न सकेका थिए। अहिले भने उनी ‘ल्याङ्ग ल्याङ्ग’बाट फरक शैलीको कथा प्रस्तुत गर्दै दर्शकको मन जित्ने लक्ष्यमा छन्।

चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। हाल प्रि–प्रोडक्सन र कलाकार छनोटको काम तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

निर्देशक चौहानका अनुसार कलाकार र प्राविधिक टोलीलाई अन्तिम रूप दिने प्रक्रिया जारी छ। स्थापित कलाकारसँगै केही नयाँ प्रतिभासँग पनि छलफल भइरहेको र छिट्टै सम्पूर्ण टिम सार्वजनिक गर्दै छायांकन सुरु गरिने तयारी रहेको उनले बताएका छन्।


सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go