संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल आबद्ध भएकी छन्। निर्माण टिमले उनीसँग औपचारिक सम्झौता सम्पन्न भएको जानकारी दिएको छ।
गौरी मल्लको आगमनसँगै चलचित्रको कलाकार लाइनअप अझ आकर्षक बनेको छ। यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। त्यस्तै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ पनि चलचित्रमा देखिनेछन्।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा निर्देशक टंक बुढाथोकी स्वयंले लेखेका हुन्। पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन् भने संगीत पनि बुढाथोकीकै रहनेछ। चलचित्रको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन्।
पहिलो भाग ‘मन बिनाको धन’ मा अभिनय गरेका अशोक दर्जी र ए.आर. बुढाथोकी दोस्रो श्रृंखलामा रहने वा नरहने विषयमा भने निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको महत्वपूर्ण दृश्य खिच्ने तयारी गरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd