प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता जगाएको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा पनि उत्साहजनक सुरुआत गरेको छ। शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकको मन जित्न सफल भएको हो।
पहिलो दिनको राम्रो ‘वर्ड अफ माउथ’को प्रभाव शनिबार स्पष्ट देखिएको छ। अधिकांश हलमा चलचित्रका शोहरूमा उल्लेखनीय दर्शक उपस्थिति भएपछि केही हलहरूले अतिरिक्त शोसमेत थपेका छन्। शुक्रबारको प्रदर्शन र शनिबारको अग्रिम टिकट बुकिङ उत्साहजनक रहेपछि वितरक तथा हल सञ्चालकहरूले शो संख्या बढाएका हुन्।
दर्शकको उत्साह प्रत्यक्ष अनुभव गर्न कलाकार अरुण क्षेत्री, सिम्रन खड्का लगायतको टोली विभिन्न हलमा पुगेको थियो। त्यहाँ पुगेका दर्शकहरूले गाउँको जीवन, परिवार र सम्बन्धको कथा यथार्थपरक ढंगले प्रस्तुत गरिएको भन्दै चलचित्र टोलीको प्रशंसा गरेका छन्।
निर्देशक डा. कपिल रिजालका अनुसार दर्शकबाट प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रहेको छ। उनले मौलिक विषयवस्तु बोकेको चलचित्रलाई दर्शकले रुचाइदिएको बताउँदै यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको उल्लेख गरे।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनासहितका कलाकारहरूको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd