चीनमा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट ठहरिएका नेपाली चलचित्र तथा स्रष्टाहरूलाई काठमाडौंमा विशेष समारोहबीच नगद पुरस्कारसहित सम्मान गरिएको छ । विजेताहरूलाई कुल १० हजार अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिएको हो ।
चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म आयोजना गरिएको नेपाली चलचित्र सप्ताहमा चलचित्र ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित भएको थियो। उक्त चलचित्रले ४ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ ।
त्यस्तै, चलचित्र ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार डलर प्राप्त गर्न सफल भए । ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार पाए ।
प्राविधिकतर्फ ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार बने भने ‘होस्टेल ३’ उत्कृष्ट सम्पादन विधामा सम्मानित भयो । यी दुवै विधामा पनि जनही १ हजार डलर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
चलचित्रहरूको मूल्यांकन डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विशेषज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित निर्णायक टोलीले गरेको थियो ।
पुरस्कार वितरण समारोहका लागि हलिउड निर्देशक चेन शि–झेङ सहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
समारोहमा उपस्थित नेपाली चलचित्रकर्मीले चिनियाँ प्रतिनिधिमण्डलप्रति सम्मान व्यक्त गर्दै उठेर ताली बजाएर ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सु ले चलचित्रले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । फेस्टिभल अध्यक्ष करुण थापा ले यस पहलले नेपाली चलचित्रलाई चिनियाँ सिनेमा हल र ओटीटी प्लेटफर्मसम्म पुग्ने अवसर सिर्जना गर्ने बताए ।
बोर्ड अध्यक्ष दिनेश डीसी ले पनि भविष्यमा नेपाली चलचित्रले चीनमा उल्लेखनीय व्यावसायिक बजार पाउने सम्भावना रहेको धारणा राखे ।
यसै अवसरमा चिनियाँ लगानीकर्ताहरूले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्ने तथा एआई प्रविधिमा आधारित नेपाली चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने रुचि व्यक्त गरेका छन् ।
कार्यक्रममा आर्थिक सहयोगी संस्था ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजी का अध्यक्ष ली हान लगायत चिनियाँ प्रतिनिधिमण्डललाई विशेष सम्मान गरिएको थियो । जवाफस्वरूप चिनियाँ टोलीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र फेस्टिभल अध्यक्ष करुण थापालाई पनि सम्मान अर्पण गरेको थियो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd