नेपाली चलचित्रको प्रदर्शन तालिका भदौमा थप व्यस्त हुने भएको छ । महिनाभर हरेक शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् भने भदौ २६ गते एकैदिन चार फिल्म हलमा पुग्दैछन् ।
साउनमा ‘गौँथली’, ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’ गरी पाँच नेपाली फिल्म प्रदर्शनमा आएका थिए । तीमध्ये ‘गौँथली’ले राम्रो व्यापार गर्दै पाँचौँ सातासम्म प्रदर्शनलाई निरन्तरता दिएको छ । ‘कमला मिस’, ‘हली’ र ‘शक्ति’ले भने अपेक्षाअनुसार व्यापार गर्न सकेनन् । ‘लज्जावती’को व्यापारिक अवस्था भने प्रदर्शनको सुरुवाती चरणमै रहेकाले मूल्यांकन हुन बाँकी छ ।
भदौमा ‘मास्टर्नी’, ‘पार्वती’, ‘बाः एक योद्धा’, ‘ककाकिकी’, ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ गरी आठ फिल्म प्रदर्शनको तयारीमा छन्
भदौ ५ गते प्रियङ्का कार्कीको निर्माणमा बनेको ‘मास्टर्नी’ प्रदर्शन हुनेछ । आमा–छोरीको सम्बन्धलाई अपराध थ्रिलरको पृष्ठभूमिमा प्रस्तुत गरिएको फिल्ममा प्रियङ्कासहित सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी र आर्यन सिग्देललगायत कलाकार छन् ।
भदौ १२ गते नीता ढुङ्गानाको निर्देशनमा बनेको ‘पार्वती’ प्रदर्शनमा आउनेछ । अटिजम र दिदी–भाइबीचको सम्बन्धलाई केन्द्रमा राखिएको फिल्ममा नीता स्वयं मुख्य भूमिकामा छिन् । बालगायक अशोक दर्जी पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिएका छन् ।
भदौ १९ गते भने ‘बाः एक योद्धा’ र ‘ककाकिकी’बीच प्रतिस्पर्धा हुनेछ । ‘बाः एक योद्धा’ले बाबुको त्याग र सन्तानप्रतिको समर्पणको कथा प्रस्तुत गर्छ । हरि लम्साल निर्देशित फिल्ममा दिव्य देव, सुहाना थापा र झरना थापालगायत कलाकार छन् ।
सोही मितिमा ‘कमेडी दरबार’को टिमले निर्माण गरेको ‘ककाकिकी’ पनि रिलिज हुँदैछ । विक्की अग्रवाल र श्रद्धा प्रसाईं निर्देशित फिल्ममा हास्यसँगै सामाजिक विषयलाई समेत समेटिएको छ ।
भदौ २६ गते भने नेपाली फिल्मका लागि सबैभन्दा व्यस्त दिन बन्ने देखिएको छ । उक्त दिन ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ एकसाथ प्रदर्शनमा आउनेछन् ।
रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किएको ‘माया भनेकै यस्तै होला’ प्रेम, विवाह र धोकाको कथामा आधारित छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकार छन् ।
‘अक्षरा’ले घरेलु हिंसा र पारिवारिक समस्याको कथा उठाएको छ । विनयराज पौडेल निर्देशित फिल्ममा सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भूमिका छ ।
माओत्से गुरुङ निर्देशित ‘पेन्सनपट्टा’ले लाहुरे समाज र अवकाशपछि उनीहरूको जीवनमा आउने पारिवारिक तथा भावनात्मक उतारचढावलाई प्रस्तुत गरेको छ । फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई र बुद्धि तामाङलगायत कलाकार छन् ।
त्यसैगरी ‘बेहुली’ विवाह, संस्कार र त्यससँग जोडिएका पारिवारिक घटनाक्रममा केन्द्रित छ । सशान कँडेल निर्देशित फिल्ममा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।
एकै महिनामा आठ फिल्म प्रदर्शनमा आउनु नेपाली चलचित्र क्षेत्रका लागि सकारात्मक भए पनि एउटै मितिमा चार फिल्म जुध्दा हलमा शो बाँडफाँट र दर्शक तान्ने प्रतिस्पर्धा भने चुनौतीपूर्ण बन्ने देखिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd