काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ। शनिबार साँझ विशेष समारोहबीच नाटकको प्रिमियर शो सम्पन्न भएको हो।
प्रिमियरमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी भएका थिए। नाटक हेरेपछि उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसमा गणेशमान सिंहले खेलेको भूमिकाबारे नयाँ पुस्ताले बुझ्न आवश्यक रहेको बताए।
उनले राजनीतिक परिवर्तन सहज रूपमा प्राप्त भएको ठान्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै इतिहासमा भएका संघर्ष र बलिदानलाई बुझ्न ‘वीर गणेशमान’ हेर्नुपर्ने धारणा राखे। प्रिमियरमा कलाकार, साहित्यकार, पत्रकार, राजनीतिक विश्लेषकसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
गणेशमान सिंह फाउण्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकले राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको संघर्षदेखि २०४६ सालको जनआन्दोलनसम्मका महत्वपूर्ण घटनालाई कथाको केन्द्रमा राखेको छ।
राणा शासनका बेला सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएपछि भद्रगोल जेलबाट पर्खाल नाघेर भागेको साहसिक घटनालाई नाटकमा विशेष रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्रस्ताव गरिएको प्रधानमन्त्री पदसमेत अस्वीकार गर्दै सत्ता भन्दा निष्ठालाई प्राथमिकता दिएको गणेशमानको त्यागलाई पनि नाटकले उजागर गरेको छ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण तथा निर्देशनमा तयार भएको नाटकमा अभिनेता अभयराज बरालले गणेशमान सिंहको भूमिका निर्वाह गरेका छन्। प्रा. डा. सावित्री कक्षपतीले स्क्रिप्ट सम्पादन गरेकी छन्।
करिब दुई घण्टा लामो नाटकले गणेशमान सिंहको जीवनीसँगै नेपाली राजनीतिक इतिहासका महत्वपूर्ण संघर्ष, एक निष्ठावान् राजनीतिक योद्धाका मानसिक उतारचढाव तथा शारीरिक संघर्षलाई समेत मञ्चमा प्रस्तुत गरेको छ।
आफ्नो पाँच दशक लामो नाट्य यात्रामा पहिलोपटक यथार्थपरक शैलीलाई प्राथमिकता दिएको निर्देशक अशेष मल्लले बताएका छन्। यसअघि बिम्ब र प्रतीकमा आधारित प्रस्तुति गर्दै आएका मल्लले ‘वीर गणेशमान’मा भने यथार्थ घटनालाई केन्द्रमा राखेका छन्।
नेपाली जनताको अधिकार र स्वाभिमानका लागि गणेशमान सिंहले गरेको संघर्ष तथा त्यागलाई समेटिएको ‘वीर गणेशमान’ आगामी २०८३ असोज १४ गतेसम्म सर्वनाम थिएटरमा मञ्चन हुनेछ।
बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे नाटक प्रदर्शन हुनेछ भने दर्शकको सुविधाका लागि शनिबार दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको आयोजकले जनाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd