logo

२०८३ असोज ७ बुधबार

हलमा ‘मास्टर्नी’, १६ वर्षमुनिकाले हेर्न नपाउने

हलमा ‘मास्टर्नी’, १६ वर्षमुनिकाले हेर्न नपाउने

377
SHARES
हलमा ‘मास्टर्नी’, १६ वर्षमुनिकाले हेर्न नपाउने

अभिनेत्री प्रियंका कार्कीको निर्माणमा बनेको पहिलो चलचित्र ‘मास्टर्नी’ शुक्रबारदेखि हलमा आएको छ । क्राइम थ्रिलर जनरामा तयार भएको फिल्मले देशभर ६० भन्दा बढी शो पाएको भए पनि सुरुवाती प्रदर्शनमा दर्शकको उल्लेख्य साथ देखिएको छैन ।

बिहानीका शोहरूमा देशभर फिल्मको अकुपेन्सी १० प्रतिशतभन्दा कम रहेको देखिएको छ । निर्माण पक्षले अपेक्षा गरेअनुसार दर्शकको चाप नहुँदा ‘मास्टर्नी’को सुरुवात कमजोर बनेको हो ।

प्रदर्शनअघि नै ‘म्याथ सिक्ने भए’ गीतका कारण फिल्म विवादमा परेको थियो । गीतलाई लिएर सामाजिक सञ्जालमा विरोधसँगै फिल्म बहिष्कारको अभियानसमेत चलेको थियो । विवाद बढ्दै गएपछि प्रियंकाले गीत युट्युबबाट हटाउँदै दर्शकसँग माफी मागेकी थिइन् । यद्यपि, उक्त घटनालाई लिएर अहिले पनि उनलाई सामाजिक सञ्जालमा आलोचना तथा असभ्य टिप्पणी हुने गरेका छन् ।

आफ्नो प्रोडक्सन हाउसको पहिलो फिल्म भएकाले प्रियंकाले ‘मास्टर्नी’को निर्माणदेखि प्रचारसम्म विशेष ध्यान दिएकी थिइन् । उनले प्रदर्शनअघि फिल्मको पुनः छायांकनसमेत गराएकी थिइन् । विवादित गीत हटाएपछि दर्शकलाई आकर्षित गर्ने उद्देश्यले अर्को गीत सार्वजनिक गरियो । प्रचार अभियानकै क्रममा उनी भैरहवासम्म पुगेकी थिइन् ।

तर, प्रचारमा निर्माण पक्षले गरेको निरन्तर प्रयासको तुलनामा फिल्मको प्रारम्भिक व्यापारिक प्रतिक्रिया भने उत्साहजनक देखिएको छैन ।

भारतीय मूलका निर्देशक शुभेन्दु घोषले निर्देशन गरेको ‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा र अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय छ ।

फिल्मले सेन्सर बोर्डबाट १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने गरी ‘एडल्ट’ प्रमाणपत्र पाएको छ । अब आगामी दिनमा दर्शकको प्रतिक्रिया र सकारात्मक वर्ड अफ माउथले ‘मास्टर्नी’को व्यापार उकास्न सक्छ कि सक्दैन भन्ने चासोको विषय बनेको छ ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
Go