बलिउड अभिनेता शाहरुख खानले भारतका सर्वाधिक धनी अभिनेता बन्ने आफ्नो स्थानलाई लगातार दोस्रो वर्ष कायम राखेका छन् । ‘हुरुन इन्डिया रिच लिस्ट २०२६’मा शाहरुख मनोरञ्जन क्षेत्रकै सबैभन्दा धनी अभिनेताका रूपमा शीर्ष स्थानमा छन् ।
रिपोर्टअनुसार शाहरुखको कुल सम्पत्ति यस वर्ष बढेर करिब १० हजार करोड भारु पुगेको छ । उनी सन् २०२५ को सूचीमा पनि पहिलो स्थानमा थिए ।
चार हजार करोड भारु सम्पत्तिसहित अमिताभ बच्चन दोस्रो स्थानमा छन् । अघिल्लो वर्ष १ हजार ६ सय ३० करोड भारु रहेको उनको सम्पत्ति यसपटक उल्लेख्य रूपमा बढेको रिपोर्टमा जनाइएको छ । फिल्मसँगै टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’बाट हुने आम्दानी तथा विभिन्न व्यावसायिक लगानीले उनको सम्पत्ति बढाउन योगदान गरेको बताइएको छ ।
तीन हजार करोड भारु सम्पत्तिसहित सलमान खान धनी कलाकारको सूचीमा तेस्रो स्थानमा छन् । उनी पहिलोपटक यो सूचीको शीर्ष स्थानमा परेका हुन् । त्यस्तै, ऋतिक रोशनको सम्पत्ति २ हजार ५ सय करोड भारु पुगेको छ । उनको सम्पत्ति अघिल्लो वर्षको तुलनामा ३४० करोड भारुले बढेको उल्लेख छ ।
यस वर्षको सूचीमा भने केही चर्चित नाम बाहिरिएका छन् । गत वर्ष ७ हजार ७ सय ९० करोड भारु सम्पत्तिसहित शीर्ष चारमा रहेकी अभिनेत्री जूही चावला र १ हजार ८ सय ८० करोड भारुसहित परेका निर्माता करण जोहर यसपटक सूचीमा समावेश छैनन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd