गत भदौ १३ गतेदेखि चलचित्र विकास बोर्ड अध्यक्षविहीन अवस्थामा छ । तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (डिसी)को दुईवर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको पदमा सरकारले दसैंअघि नै नयाँ नियुक्ति गर्ने तयारी अघि बढाएको छ ।
अध्यक्ष नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज १ गते आवेदन खुलाएको थियो । असोज ७ गतेसम्म आवेदन दिने समयसीमा तोकिएकोमा १२ जनाले अध्यक्ष पदका लागि दाबी प्रस्तुत गरेका छन् ।
आवेदन दिनेमा निशा अधिकारी, नरेशकुमार पौडेल, मनिष पण्डित, जेनिश पहारी श्रेष्ठ, सुभाष कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा, नरेशकुमार केसी, डम्बरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली छन् ।
अब मन्त्रालयले प्राप्त आवेदनमध्येबाट मापदण्डका आधारमा ‘सर्ट लिस्ट’ तयार गर्नेछ । तीनजना उम्मेदवार छनोट गर्न राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्म निर्देशक अशोक शर्मा सदस्य छन् ।
समितिले तीनजना उम्मेदवारको नाम सिफारिस गरेपछि तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
यसअघिका नियुक्ति प्रक्रियालाई लिएर भने विभिन्न प्रश्न उठ्दै आएका थिए । अध्यक्ष पदका लागि आवेदन र छनोट प्रक्रिया औपचारिकतामा सीमित हुने तथा अन्ततः राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने गरेको चर्चा हुने गरेको थियो । कतिपय अवस्थामा बोर्ड अध्यक्षको पद राजनीतिक भागबन्डासँग समेत जोडिने गरेको आरोप लाग्दै आएको छ ।
यसपटक नयाँ सरकार बनेको अवस्थामा बोर्डको नेतृत्व चयन प्रक्रिया कति पारदर्शी र निष्पक्ष हुन्छ भन्ने विषयमा चलचित्र क्षेत्रको चासो बढेको छ । अब तीनजनाको ‘सर्ट लिस्ट’ कसरी तयार हुन्छ र अन्ततः बोर्डको नेतृत्व कसको हातमा पुग्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd