logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘महाभोज’ को विशेष प्रदर्शन काठमाडौंमा सम्पन्न

    ‘महाभोज’ को विशेष प्रदर्शन काठमाडौंमा सम्पन्न

    195
    SHARES
    ‘महाभोज’ को विशेष प्रदर्शन काठमाडौंमा सम्पन्न

    भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।

    प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।”

    यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

    प्रदर्शनपछि पत्रकारहरूबाट पनि चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै चलचित्रको प्रशंसा गरिएको छ । पत्रकारहरूले यसका निर्देशक राउतको निर्देशकीय क्षमताको व्यापक प्रशंसा गरेका छन् । ‘महाभोज’ केवल चलचित्र मात्र नभई, यो एक सशक्त सामाजिक दस्ताबेज पनि रहेको उनीहरूले प्रतिक्रिया दिए ।

    यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।

    दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।


    बुधबार, १५ जेष्ठ २०८२
    सम्बन्धित समाचार
    Go