logo

२०८२ फाल्गुन २६ मंगलबार

logo
  • मंगलबार, २६ फाल्गुन २०८२
  • ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक

    ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक

    949
    SHARES
    ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक

    यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

    गीतले विशेष गरी रोजगारीको सिलसिलामा बिदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ।

    ‘आमा’ बोलको गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन्। मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा सङ्गीत स्वयं काफ्लेकै रहेको छ भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गरेका छन्।

    ‘रियाल रिङ्गेट’ नाम स्वयं नै प्रतीकात्मक रहेको छ। ‘रियाल’ खाडी मुलुक कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई मुद्राको नाम संयोजनले ती मुलुकहरूलाई इङ्गित गर्छ, जहाँ लाखौँ नेपालीहरू श्रम गर्न बाध्य छन्। चलचित्रले त्यही वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ।

    चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। साथै, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको यस फिल्ममा गीत–सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले सङ्गीत भरेका छन्। स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको योगदान रहेको छ।

    गीतका शब्दहरू अमर न्यौपानेसहित रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्। चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। ‘रियाल रिङ्गेट’ लाई काफिया फिल्म्सले वितरण गर्नेछ।

    वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको कथा बोकेको यो चलचित्र र यसको गीत ‘आमा’ ले दर्शकको मन छुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।


    आइतबार, १२ साउन २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go