logo

२०८३ साउन २६ मंगलबार

‘बेहुली’ले घरेलु प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता

‘बेहुली’ले घरेलु प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता

169
SHARES
‘बेहुली’ले घरेलु प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता

नेपाली चलचित्र ‘बेहुली’ले घरेलु प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ। आगामी भदौ २६ गते नेपालमा रिलिज हुने तयारीमा रहेको यस चलचित्रका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको निर्माण टिमले जनाएको छ।



निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरमार्फत अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतजस्ता नेपाली चलचित्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारमा वितरण सम्झौता सम्पन्न भएको जानकारी दिएको हो।

अस्ट्रेलियामा चलचित्रको प्रदर्शन अधिकार ‘आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ। त्यहाँ पनि चलचित्र नेपालमै रिलिज हुने दिन अर्थात् भदौ २६ गतेबाट प्रदर्शनमा आउनेछ।

अमेरिका र क्यानडाको प्रदर्शन जिम्मा ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले लिएको छ भने दुबई, कतार र बहराइनसहितका मध्यपूर्वी मुलुकमा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ले चलचित्र प्रदर्शन गर्ने भएको छ। यी सबै बजारमा चलचित्र भदौ २६ गते नै रिलिज हुने निर्माण पक्षले जनाएको छ।

बेलायतमा भने चलचित्र केही ढिलो प्रदर्शन हुनेछ। त्यहाँको प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ले खरिद गरेको छ र असोज १६ गते रिलिज गर्ने तयारी गरिएको छ।

यता, चलचित्रको प्रचारप्रसारलाई निर्माण टिमले तीव्र बनाएको छ। हालसम्म ‘फर्स्ट लुक पोस्टर’ र पहिलो गीत सार्वजनिक भइसकेको छ। हालै रिलिज गरिएको ‘दिलमा ठाउँ छ’ बोलको लोक शैलीको गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

निर्माण पक्षका अनुसार गीतले सार्वजनिक भएको छोटो अवधिमै युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा करिब ६ लाख भिडियो सिर्जना गराइसकेको छ। चलचित्रका अन्य गीत तथा ट्रेलर भने सार्वजनिक हुन बाँकी छन्।

सशान कँडेल निर्देशित चलचित्रमा माधव शर्माको कथा तथा लेखन रहेको छ। चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को संयुक्त प्रस्तुति रहेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माताका रूपमा आबद्ध छन् भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसरका रूपमा रहेका छन्.


सोमबार, १८ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go